1 | GEN 1:1 | आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । |
2 | GEN 1:2 | पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो । |
3 | GEN 1:3 | परमेश्वरले भन्नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो । |
4 | GEN 1:4 | परमेश्वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो । उहाँले उज्यालोलाई अन्धकारबाट छुट्ट्याउनुभयो । |
5 | GEN 1:5 | परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - पहिलो दिन । |
6 | GEN 1:6 | परमेश्वरले भन्नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।” |
7 | GEN 1:7 | परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो । |
8 | GEN 1:8 | परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - दोस्रो दिन । |
9 | GEN 1:9 | परमेश्वरले भन्नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो । |
10 | GEN 1:10 | परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो । |
11 | GEN 1:11 | परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो । |
12 | GEN 1:12 | पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्यो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो । |
13 | GEN 1:13 | साँझ पर्यो र बिहान भयो - तेस्रो दिन । |
14 | GEN 1:14 | परमेश्वरले भन्नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् । |
15 | GEN 1:15 | पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो । |
16 | GEN 1:16 | परमेश्वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो । |
17 | GEN 1:17 | पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न |
18 | GEN 1:18 | परमेश्वरले ती आकाशमा राख्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो । |
19 | GEN 1:19 | साँझ पर्यो र बिहान भयो - चौथो दिन । |
20 | GEN 1:20 | परमेश्वरले भन्नुभयो, “पानी ठुलो सङ्ख्यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।” |
21 | GEN 1:21 | परमेश्वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो । |
22 | GEN 1:22 | परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।” |
23 | GEN 1:23 | साँझ पर्यो र बिहान भयो - पाँचौँ दिन । |
24 | GEN 1:24 | परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्न गरोस् ।” तब त्यस्तै भयो । |
25 | GEN 1:25 | परमेश्वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो । |
26 | GEN 1:26 | परमेश्वरले भन्नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” |
27 | GEN 1:27 | परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |
28 | GEN 1:28 | परमेश्वरले तिनीहरूलाई आशिष्् दिनुभयो र भन्नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” |
29 | GEN 1:29 | परमेश्वरले भन्नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् । |
30 | GEN 1:30 | पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो । |
31 | GEN 1:31 | परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्यो र बिहान भयो - छैटौँ दिन । |
32 | GEN 2:1 | सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्टि पुरा भयो । |
33 | GEN 2:2 | सातौँ दिनसम्ममा परमेश्वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो । |
34 | GEN 2:3 | परमेश्वरले सातौँ दिनलाई आशिष्् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो । |
35 | GEN 2:4 | परमप्रभु परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो । |
36 | GEN 2:5 | पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन । |
37 | GEN 2:6 | तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो । |
38 | GEN 2:7 | परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो । |
39 | GEN 2:8 | परमप्रभु परमेश्वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो । |
40 | GEN 2:9 | हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो । |
41 | GEN 2:10 | बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए । |
42 | GEN 2:11 | पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ । |
43 | GEN 2:12 | त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । |
44 | GEN 2:13 | दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ । |
45 | GEN 2:14 | तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो । |
46 | GEN 2:15 | परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्नुभयो । |
47 | GEN 2:16 | परमप्रभु परमेश्वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्त्रता छ । |
48 | GEN 2:17 | तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस् ।” |
49 | GEN 2:18 | त्यसपछि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।” |
50 | GEN 2:19 | परमप्रभु परमेश्वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो । |
51 | GEN 2:20 | मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन । |
52 | GEN 2:21 | परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो । |
53 | GEN 2:22 | परमप्रभु परमेश्वरले मानिसबाट झिक्नुभएको करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो । |
54 | GEN 2:23 | मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।” |
55 | GEN 2:24 | त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् । |
56 | GEN 2:25 | मानिस र त्यसकी पत्नी दुवै नाङ्गै थिए, तर तिनीहरू लजाउँदैन थिए । |
57 | GEN 3:1 | परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?” |
58 | GEN 3:2 | स्त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ, |
59 | GEN 3:3 | तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्वरले भन्नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’” |
60 | GEN 3:4 | सर्पले स्त्रीलाई भन्यो, “निश्चय नै तिमीहरू मर्नेछैनौ । |
61 | GEN 3:5 | किनभने परमेश्वर जान्नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ ।” |
62 | GEN 3:6 | जब स्त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए । |
63 | GEN 3:7 | तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए । |
64 | GEN 3:8 | अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्वरको नजरबाट लुके। |
65 | GEN 3:9 | परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” |
66 | GEN 3:10 | मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्गै थिएँ । यसैकारण म लुकेँ ।” |
67 | GEN 3:11 | परमेश्वरले भन्नुभयो, “तँ नाङ्गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?” |
68 | GEN 3:12 | मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।” |
69 | GEN 3:13 | परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ ।” |
70 | GEN 3:14 | परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् । |
71 | GEN 3:15 | तेरो र स्त्रीबिच, अनि तेरो सन्तान र स्त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्चा डस्नेछस् ।” |
72 | GEN 3:16 | उहाँले स्त्रीलाई भन्नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्नेछ ।” |
73 | GEN 3:17 | आदमलाई उहाँले भन्नुभयो, “तैँले तेरी पत्नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् । |
74 | GEN 3:18 | त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् । |
75 | GEN 3:19 | तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।” |
76 | GEN 3:20 | मानिसले आफ्नी पत्नीको नाम हव्वा राख्यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् । |
77 | GEN 3:21 | परमप्रभु परमेश्वरले आदम र उनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो । |
78 | GEN 3:22 | परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।” |
79 | GEN 3:23 | त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो । |
80 | GEN 3:24 | परमेश्वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो । |
81 | GEN 4:1 | मानिसलेआफ्नी पत्नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।” |
82 | GEN 4:2 | अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए । |
83 | GEN 4:3 | समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए । |
84 | GEN 4:4 | हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो, |
85 | GEN 4:5 | तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए । |
86 | GEN 4:6 | परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ? |
87 | GEN 4:7 | यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।” |
88 | GEN 4:8 | कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे । |
89 | GEN 4:9 | अनि परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?” |
90 | GEN 4:10 | परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ । |
91 | GEN 4:11 | अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ । |
92 | GEN 4:12 | आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।” |
93 | GEN 4:13 | कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्नेभन्दा धेरै भयो । |
94 | GEN 4:14 | वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।” |
95 | GEN 4:15 | परमप्रभुले तिनलाई भन्नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् । |
96 | GEN 4:16 | यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे । |
97 | GEN 4:17 | कयिनले आफ्नी पत्नीसँग सहवास गरे, र तिनी गर्भवती भइन् । तिनले हनोकलाई जन्माइन् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे । |
98 | GEN 4:18 | हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने । |
99 | GEN 4:19 | लेमेखले दुइ जना पत्नीहरू ल्याए । एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो । |
100 | GEN 4:20 | आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्नेहरू र पशु पालन गर्नेहरूका पिता बने । |
101 | GEN 4:21 | तिनको भाइको नाउँ यूबाल थियो । तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता बने । |
102 | GEN 4:22 | सिल्लाको हकमा, तिनले तुबल-कयिन अर्थात् काँसो र फलामका काम गर्नेहरूलाई जन्माइन् । तुबल-कयिनकी बहिनी नामा थिइन् । लेमेखले तिनकी पत्नीहरूलाई भने, “ |
103 | GEN 4:23 | लेमेखका पत्नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मलाई चोट पुर्याउने मनिसलाई अर्थात् मलाई घायल बनाउने जवानलाई मैले मारेको छु । |
104 | GEN 4:24 | यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिइनेछ ।” |
105 | GEN 4:25 | आदमले तिनको पत्नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्वरले मलाई अर्को छोरा दिनुभएको छ ।” |
106 | GEN 4:26 | शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्वरको नाउँ पुकार्न सुरु गरे । |
107 | GEN 5:1 | आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । |
108 | GEN 5:2 | उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । |
109 | GEN 5:3 | आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । |
110 | GEN 5:4 | आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
111 | GEN 5:5 | आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । |
112 | GEN 5:6 | शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए । |
113 | GEN 5:7 | तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
114 | GEN 5:8 | शेत ९१२ वर्ष बाँचे र तिनी मरे । |
115 | GEN 5:9 | एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । |
116 | GEN 5:10 | तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
117 | GEN 5:11 | एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । |
118 | GEN 5:12 | केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । |
119 | GEN 5:13 | तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
120 | GEN 5:14 | केनान ९१० वर्ष बाँचे र तिनी मरे । |
121 | GEN 5:15 | महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए । |
122 | GEN 5:16 | तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
123 | GEN 5:17 | महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । |
124 | GEN 5:18 | येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । |
125 | GEN 5:19 | तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
126 | GEN 5:20 | येरेद ९६२ बाँचे र तिनी मरे । |
127 | GEN 5:21 | हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । |
128 | GEN 5:22 | हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे । |
129 | GEN 5:23 | तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
130 | GEN 5:24 | हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो । |
131 | GEN 5:25 | मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । |
132 | GEN 5:26 | तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
133 | GEN 5:27 | मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । |
134 | GEN 5:28 | लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । |
135 | GEN 5:29 | तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।” |
136 | GEN 5:30 | लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
137 | GEN 5:31 | लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे । |
138 | GEN 5:32 | नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए । |
139 | GEN 6:1 | मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्मे, |
140 | GEN 6:2 | परमेश्वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्नी ल्याए । |
141 | GEN 6:3 | परमप्रभुले भन्नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्नेछन् ।” |
142 | GEN 6:4 | ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए । |
143 | GEN 6:5 | पृथ्वीका मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो । |
144 | GEN 6:6 | पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो । |
145 | GEN 6:7 | यसैले परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।” |
146 | GEN 6:8 | तर नोआले परमप्रभुको निगाह पाए । |
147 | GEN 6:9 | यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्वरसँग हिँडे । |
148 | GEN 6:10 | नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए । |
149 | GEN 6:11 | परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र हिंसाले भरिएको थियो । |
150 | GEN 6:12 | परमेश्वरले पृथ्वीलाई देख्नुभयो; हेर, यो त भ्रष्ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्ट भएका थिए । |
151 | GEN 6:13 | परमेश्वरले नोआलाई भन्नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्ट पार्नेछु । |
152 | GEN 6:14 | तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू । जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू । |
153 | GEN 6:15 | तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्चाइ चौध मिटरको होस् । |
154 | GEN 6:16 | जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू । जहाजको एकपट्टी ढोका राख्नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू । |
155 | GEN 6:17 | सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् । |
156 | GEN 6:18 | तर तँसँग म मेरो करार स्थापित गर्नेछु । तँ, तेरा छोराहरू, तेरी पत्नी र तेरा छोराहरूका पत्नीहरू जहाजभित्र आउनेछौ । |
157 | GEN 6:19 | हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र |
158 | GEN 6:20 | पृथ्वीमाथि घस्रने जन्तुहरूलाई जीवित राख्न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू । |
159 | GEN 6:21 | खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्मा गर्नू, जुन तेरो र तिनीहरूका निम्ति आहारा हुनेछ ।” |
160 | GEN 6:22 | यसैले नोआले यो गरे । तिनले परमेश्वरले आज्ञा गर्नुभएबमोजिम गरे । |
161 | GEN 7:1 | परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु । |
162 | GEN 7:2 | हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू । |
163 | GEN 7:3 | अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्न सात जोडी भाले र पोथी ल्याउनू । |
164 | GEN 7:4 | किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्ट गर्नेछु ।” |
165 | GEN 7:5 | परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे । |
166 | GEN 7:6 | पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए । |
167 | GEN 7:7 | जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे । |
168 | GEN 7:8 | शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्वरले नोआलाई आज्ञा गर्नुभएझैँ |
169 | GEN 7:9 | भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे । |
170 | GEN 7:10 | सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो । |
171 | GEN 7:11 | नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले । |
172 | GEN 7:12 | चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्यो । |
173 | GEN 7:13 | त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे । |
174 | GEN 7:14 | हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे । |
175 | GEN 7:15 | जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे । |
176 | GEN 7:16 | भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे । |
177 | GEN 7:17 | त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो । |
178 | GEN 7:18 | पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो । |
179 | GEN 7:19 | आकाशमुनिका सबै अग्ला-अग्ला पर्वतहरूलाई ढाक्ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो । |
180 | GEN 7:20 | पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो । |
181 | GEN 7:21 | पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे । |
182 | GEN 7:22 | जमिनमा बस्ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे । |
183 | GEN 7:23 | यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे । |
184 | GEN 7:24 | एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन । |
185 | GEN 8:1 | परमेश्वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो । |
186 | GEN 8:2 | अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो । |
187 | GEN 8:3 | जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो । |
188 | GEN 8:4 | सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो । |
189 | GEN 8:5 | दसौँ महिनासम्म पानी निरन्तर घटिरह्यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे । |
190 | GEN 8:6 | चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले । |
191 | GEN 8:7 | तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्जेलसम्म त्यो यताउता उडिरह्यो । |
192 | GEN 8:8 | त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए । |
193 | GEN 8:9 | तर ढुकुरले आफ्नो खुट्टा राख्ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए । |
194 | GEN 8:10 | अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए । |
195 | GEN 8:11 | साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए । |
196 | GEN 8:12 | अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन । |
197 | GEN 8:13 | नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे । |
198 | GEN 8:14 | दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो । |
199 | GEN 8:15 | परमेश्वरले नोआलाई भन्नुभयो, |
200 | GEN 8:16 | “तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ । |